त्रिमूल नेपाल लामो समयदेखि देशमा फराकिलो बन्दै आएको संकट र यसको यथार्थपरक समाधानका लागि मौलिक सोंचमा आधारित रहेर निर्माण गरिएको पार्टी हो। विशेषगरी ‘सुगौली–सन्धि’पछि देश ३ वटा आधारभूत समस्याहरुमा फसेको छ भन्ने हाम्रो निष्कर्ष रहेको छ, जो निम्न बमोजिम रहेका छन्–

१. ‘सुगौली–सन्धि’ले लादेको नव–औपनिवेशिक दासत्वका कारणले अहिलेसम्म नेपालको राज्य प्रणाली स्वाधिन हुन सकेको छैन। त्यसपछिको २ सयभन्दा बढी समयको कालखण्डमा राजनीतिक परिवर्तनका नाममा धेरै शासन प्रणालीहरु स्थापित भएका छन् तर ती सबै नव–औपनिवेशिकताको सिमाभित्र नै भएका छन्। फलतः कुनै पनि तथाकथित परिवर्तनहरुले न देशलाई सम्बोधन गर्न सके न त देशका समस्याहरु नै समाधान गर्न सके। यसर्थ, अबको परिवर्तन ‘सुगौली–सन्धि’को युगको अन्त्य गर्ने दिशामा लक्षित हुनु पर्दछ। यसलाई पार्टीले युगान्तकारी लक्षका रुपमा आत्मसात गरेको छ। ‘सुगौली–सन्धि’ले थोपरेको नव–औपनिवेशिक दासत्वको अन्त्यको अर्थ उक्त सन्धिमा ब्रिटीशहरुले जबर्जस्ति थोपरेका र पछाडी निरन्तर रुपमा विस्तार हुँदै आएका दासत्वपूर्ण बाह्य सम्बन्धहरुको अन्त्य गर्नु हो। कुनै देशहरुसंग द्वि–पक्षिय रुपमा भएका र साम्राज्यवादी बहु–राष्ट्रिय कम्पनीहरुसंग भएका विभिन्न प्रकारका अपमानजनक सन्धि वा सम्झौताहरुका कारणले देशको राज्य प्रणाली विभिन्न सर्तहरुमा बाँधिएको छ। यस्ता सर्तहरुमा आधारित सम्बन्धहरुले स्वविवेकमा काम गर्न बाधाहरु उत्पन्न गर्दै आएका छन्। ‘सुगौली–सन्धि’को यूगको अन्त्य नगरिकन यी सम्बन्धहरु तोड्न असंभव छ।

२. आम रुपमा ‘सुगौली–सन्धि’पछि र विशेषतः २००७ सालदेखि, हामीले आत्मसात गरेको दृष्टिकोण, विचार, मूल्य–मान्यताहरु पूर्णरुपमा आयातित छन्। यी कुनै पनि चिजहरु देशको मौलिकतामा केन्द्रित भएर यहाँको आवश्यकतानुसार विकास भएका होईनन्। परिणामतः यस्ता आयातित वा यान्त्रिक दृष्टिकोण, विचार, अवधारणा र मूल्यहरुले सहि दिशा दिन र देशभक्ति तथा नागरिकहरुप्रति उत्तरदायी राज्य स्कूलिङको विकास गर्न सकेनन्। यसबाट हामीसंग भएका मौलिक सोंच, विचार, मूल्य, जीवन पद्धती र अवधारणाहरु मर्दै गए। आज हामी सोंचदेखि बाँच्ने तरिकासम्म पराई मानिस बन्न पुगेका छौं। यो समस्यालाई समाधान नगरी देशलाई सहि दिशा दिन सक्ने नेतृत्वको विकास हुन असम्भव छ। हाम्रा बिचमा रहेको मूख्य समस्या यही हो। यो समस्याको समाधानका लागि पुनर्जागरण आन्दोलन उठाउन जरुरी भएको छ। हामीसंग बाँकी रहेका मौलिक कुराहरुको संरक्षण गर्दै गुमाएका चिजहरुको पुनस्र्थापना र नयाँ मौलिकताहरुको विकासको प्रश्नलाई हामीले हाम्रो आन्दोलनको मूल विषय बनाउनु पर्दछ। चिन्तन, विचार, मूल्य–मान्यता, अवधारणा, राज्य प्रणाली, मनोविज्ञान, दैनिक जीवन पद्धती लगायत सबै क्षेत्रमा मौलिकताको खोजी विना देशको वर्तमान संकट समाधान गर्न असम्भव छ।

३. नेपालको संकटको अर्को महत्वपूर्ण कारण सत्ता सर्वोच्चताको सिद्धान्त हो। ‘सुगौली–सन्धि’पछि यो वा त्यो रुपमा विदेशी शक्तिहरुको नियन्त्रणमा रहेको सत्तालाई सर्वोपरि मानेर जाँदा सत्तामा पुग्नका लागि विदेशी शक्तिहरुको दलाल बनेर तिनैहरुका लागि नै काम गर्नु पर्ने अवस्था सिर्जना भयो। यस्तो अवस्थाले दलहरुलाई राष्ट्र, राष्ट्रिय हित र नागरिकहरुको पक्षमा काम गर्न दिएन। यसै कारणले गर्दा दलाल राजनीतिमा राष्ट्रको प्रश्न सँधैभरी उपेक्षित र प्रताडित भैरह्यो। यो अवस्थालाई अन्त्य गर्नका लागि ‘राष्ट्र पहिलो’ भन्ने मान्यतालाई राज्य व्यवस्था प्रणाली सञ्चालन गर्ने सिद्धान्त बनाउनु पर्दछ।