युगान्तकारी परिवर्तन !    पुनर्जागरण आन्दोलन !!    राष्ट्र पहिलो !!!

त्रिमूल नेपालको मूल दस्ताबेज

खण्ड (क) : नेपाल सन्दर्भ

 


प्रथम अध्याय : नेपालको प्राचीनता


सनातन नेपाली सभ्यता, राज्यतन्त्र र संस्कृतिको लामो इतिहास छ । करिब ५ हजार वर्ष पुरानो (प्राचीन) नेपालको इतिहास हेर्दा के देखिन्छ भने यो पश्चिममा पञ्जाबको सतलज नदी, पूर्वमा वर्तमानको आसाम (कामरूप) र दक्षिणमा गंगा नदीदेखि उत्तरतिरको मैदानी भूभागमा बसोबास गरेका विभन्नि भाषा, वंश, सभ्यता, संस्कृति, धार्मिक पद्धति मान्ने मानिसहरूको भौगोलिक सामिप्यता, अन्तरक्रिया एवं त्यस भूगोलले निर्माण गरेका खास विशेषताको एकरूपताबाट बनेको ऐतिहासिक राज्य  हो । 

अथर्ववेदको परिशिष्टमा त्यसबेलाका प्रभावशाली ६ वटा देशहरूमध्येमा नेपालको पनि चर्चा गरिएको छ । भारतको प्राचीन मौर्य शासन कालमा त्यहाँका जैन साधु भद्रबाहु नेपालमा आएको चर्चा जैन तथा बौद्ध साहित्यमा उल्लेख गरिएको छ । बौद्ध ग्रन्थहरूमा गौतम बुद्धले उत्तर भारतमा धर्मोपदेश दिईरहेको समयमा भारतीय व्यापारीहरू बौद्ध भिक्षुहरूसँग नेपाल आएको चर्चा छ । कौटिल्यको अर्थशास्त्रमा नेपालमा पाईने राडी, छाला, रत्नहरूको निकै प्रशंसा गरिएको छ  । 

बार्हस्पत्य अर्थशास्त्रमा नेपालको परिधि ४ सय योजन (१ योजनमा १२ देखि १५ किलोमिटर लम्बाई हुन्छ) भएको उल्लेख गरिएको छ । चन्द्रगुप्तका छोरा समुद्र गुप्त (ई.पू. ३५०-३७५) ले आफ्नो छिमेकी देश नेपाल कामरूप (अहिलेको आसाम) देखि कर्तृपुर (अहिलेको कुमाउँ) सम्म फैलिएको कुरा उल्लेख गरेका छन् । चिनियाँ यात्री ह्युयेन साङले पनि नेपालको परिधि ४ हजार ली (२ हजार किलोमिटर) रहेको उल्लेख गरेका छन् । भारतमा मगध साम्राज्यको शासनकालमा नेपालको पश्चिमी सीमाना जम्मु-काश्मीर थियो । स्कन्ध पुराणमा नेपालका गाउँहरूको संख्या १ लाख रहेको उल्लेख गरिएको छ । यो गाउँ संख्यालाई भारतको आसामदेखि पञ्जावको जालन्धरसम्म समेटिएको छ, जसभित्र किरात अन्तर्गतको नौलाख किरात पनि पर्दछ । 

महान नाट्यशास्त्री भरत मुनि (लगभग ई.पू. १०००-१५००) ले आफ्ना रचनाहरूमा त्यस बेलाका जल्दाबल्दा देशहरूमध्ये अङ्ग, बङ्ग, कलिङ्ग र पौण्ड्रका साथ नेपालको पनि चर्चा गरेका छन् । गुणाढ्य (लगभग ईपू. २००) को बृहत्कथामा नेपाली राजा यशःकेतुको वणर्न पाइन्छ । सन् ७५० तिर लेखिएको मञ्जुश्री मूलकल्पमा पनि ‘नेपालमण्डल’ को उल्लेख छ । भारतको उज्जैनका ज्योतिष एवं नक्षत्रशास्त्री बराह मिहिरले (सन् ५०० तिर) शुक्रसँग चन्द्रमाको विशेष योग हुँदा नेपाली जनतामा अनिष्ट पैदा हुन्छ भनेर लेखेका छन् । राजा श्रीहर्षले छोरी दयमन्तीको स्वयंवरमा ज्योतिष मिहिरसँग नेपालका राजाका बारेमा चर्चा गरेका छन् । प्राचीन कालमा नेपालको प्रभाव यस क्षेत्रमा मात्र थिएन । नवौं शताब्दीमा अरबी भाषामा लेखिएको ’हुदूद अल आलम’ नामक पुस्तकमा नेपाली कस्तुरीको वणर्न गरिएको छ । 

प्राचीन नेपालको प्रभाव यतिमा मात्र सीमित थिएन । प्राचीन औषधि विज्ञानका कतिपय जडीबुटी र वनस्पतिहरू नेपालको नामबाट परिचित छन् । त्यसबेला चिराईतोलाई ‘किराततिक्त’ र निमलाई ’नेपालनिम्ब’ भनिन्थ्यो भने नेपालमा पाईने मूला औषधोपचारमा सबैभन्दा बढी प्रयोग हुन्थ्यो भन्ने सम्मका कुराहरू औषधिशास्त्रमा उल्लेखित छन् । औषधिका रूपमा प्रयोग हुने उखुहरूमध्ये नेपालको विशिष्ट उखुलाई ‘नेपाले’ भन्ने नाम नै दिइएको थियो । 

माथिका ऐतिहासिक विवरणहरूबाट कुन तथ्य स्पष्ट हुन्छ भने नेपाल भन्ने देश आधुनिक कालमा निर्माण भएको होईन । यो अहिले अस्तित्वमा देखिएका देशहरूमा सबैभन्दा पुरानो देशहरू मध्येको एक हो । जुनबेला यसको प्रसिद्धि चरम उँचाईमा थियो, त्यो बेला अहिलेका कुनै पनि दक्षिण एशियाली देशहरू अस्तित्वमा थिएनन् । केन्द्रीय प्रशासन कमजोर भएका बेला यो विभिन्न प्रशासनिक राज्यहरूमा विभाजित हुने र पुनः एकीकरण हुँदा एकात्मक राज्य रहँदै आएको थियो तर देशका रूपमा प्राचीन कालदेखि एउटै नेपाल थियो । 

 


द्वितीय अध्याय : नेपाली समाजको विकास प्रक्रिया


मानव सभ्यताको विकासक्रमलाई बुझ्ने क्रममा मूलतः सामाजिक, आर्थिक एवं सांस्कृतिक विकासका प्रक्रियालाई गहिरोसँग अध्ययन गर्नुपर्ने हुन्छ । यसलाई जलवायू, जनसंख्या वितरण, भू-बनोट, मानवीय आवश्यकता र चाहनाहरूमा आउने परिवर्तन, बसाईसराई, जीवनका उतारचढावहरूले निर्माण गर्ने परिवेश र त्यसले उत्पन्न गर्ने अन्तरविरोधले सिर्जना गर्ने विविध किसिमका चुनौती, अवरोध र सम्भावनालाई राम्रोसँग नबुझी नेपाली समाजको परिवर्तनको बाटो एकिन गर्न कठिन हुन्छ । 

नेपाली समाजको विकास प्रक्रियामा पनि यस्ता धेरै आरोह अवरोहहरू आएका छन् । राम्रा तथा नराम्रा, आशावादी तथा निराशावादी, सुखद तथा दुःखद, सबै प्रकारका संघर्षका अनुभवहरूबाट नेपाली समाजको विकास भएको छ । समाज विकासको लामो संक्रमणकाल पार गरेर आजको सार र रूपमा आइपुग्दा नेपाली समाजले आफ्ना केही विशेषताहरूको विकास गरेर एउटा सभ्यतायुक्त समाजको परिचय दिन सफल भएको छ । प्रागैतिहासिक कालदेखि हाम्रा पूर्खाहरूले दिएका मूल्यवान सकारात्मक देनहरूका कारणले आजको नेपाली समाजलाई चिन्ने केही विशेषताहरूको विकास भएको छ, जसको हामी सबैलाई जानकारी हुनु एकदमैं जरूरी     छ । 

(क) मिश्रित समाज

नेपाली समाज मिश्रित समाज हो । नेपाल भन्ने शब्द यहाँका सबै भाषिक, सांस्कृतिक, भौगोलिक, जातीय विविधता बोकेर एकसाथ जीवन निर्वाह गर्दै आएका नागरिकहरूको सामूहिक प्रतिनिधित्व गर्ने शब्द हो । एक आपसमा अन्तर्घुलन हुन सक्ने यो स्वभाव नै नेपाली राष्ट्रियताको मनोविज्ञान र सामाजिक सम्बन्धको मूल पक्ष हो । नेपाली समाजको जनसंख्या वितरण जातीय वर्गीकरणको संरचनामा आधारित छैन, बरू भिन्नभिन्न जातीय जनसंख्याको सम्मिश्रणबाट तयार भएको विविधताले भरिपूर्ण छ । यसैबाट नै नेपाली राष्ट्रियताको निर्माण भएको छ, जसलाई एउटा अखण्ड भूगोलले प्रतिनिधित्व गर्दछ । 

(ख) समान जलधारामा विविध संस्कृतिहरू

हिमाल, पहाड र तराईका भू-भागलाई कोशी, गण्डकी र कर्णाली जलधाराहरूले जोडेका छन् । अतः यी तीनवटा भौगोलिक क्षेत्रहरू एक आपसमा अलग रूपमा रहेका छैनन् । नेपालको भूभागमा बस्ने सम्पूर्ण नेपालीहरूको सुखदुःख यिनै नदी प्रणालीद्वारा निर्धारित हुन्छ । यिनै जलधाराहरूले सबै समुदायका रहनसहन र संस्कृतिलाई जोडेका छन् । यसै कारणले नेपालको राष्ट्रियता मूलतः इतिहास र संस्कृतिको पहिचानमा आधारित रहेको छ । उत्तरदेखि दक्षिणको सीमानासम्म बग्ने जलधाराहरूबाट अलग्गिएर नेपाली समाजको परिकल्पना गर्न सकिंदैन । यहाँका जलधाराहरू हाम्रो समाजको एकत्वका अभिन्न र अपरिहार्य कडीका रूपमा रहेका  छन् । 

(ग) समन्वयात्मक सभ्यता

नेपाली भाषा/संस्कृति एकदमैं मिश्रित स्वरूपको छ । भाषाको साझेदारीले अलग अलग प्रकारका भाषिक एवं सांस्कृतिक पहिचान र जीवनशैली भएका मानिसहरूका बीचमा समन्वय गर्दै आएको छ । एउटा मातृभाषा अर्को मातृभाषाको मिश्रणबाट अछुतो नभएका कारणले सबैले सबै भाषालाई माया गर्ने चलनको विकास भैरहेको मात्र छैन कि एउटा भाषा साहित्यमा अर्को भाषाबाट प्रशस्त शब्दहरू थपिने क्रम निकै बढिरहेको पनि छ । संस्कृतिका क्षेत्रमा नेपालीहरूले प्राचीन कालदेखि समन्वयात्मक ब्यबहार अपनाएका छन् । यहाँका धेरै सांस्कृतिक प्रतीकहरूमा विविध आस्थाहरूको समन्वय देखिन्छ । 

कैयौं मन्दिर, स्तुपा, मूर्ति, काष्ठ एवं धातु कलाकृतिहरूमा एकभन्दा बढी संस्कृतिहरूको  समन्वय गरिएको पाइन्छ । मठमन्दिरहरूमा कतै ब्राम्हण, कतै थारू, कतै राई, कतै लिम्बु, कतै मगर र कतै कथित दलित समुदायका पुजारी हुनुले पनि नेपाली संस्कृतिको समन्वयात्मक धारा झल्किन्छ । गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथ जात्रा, कुमारी जात्रा, बडा दशैं, तिहार, तिज, ऋषिपञ्चमी, ल्होसार, छठ, समाचखेवा, साकेला, माघी (माघे संक्रान्ति), गौरा पर्व जस्ता पर्वहरू आम नेपालीहरूका साझा पर्व बन्दै गएको तथ्यले के देखाउँछ भने नेपालमा जातीय/सांस्कृतिक पहिचानका आधारमा समाज विभाजित छ भन्ने विदेशी दुष्प्रचार पूणर्तया भ्रामक र द्वेषपूर्ण छ । 

(घ) राज्य निर्माणको ऐतिहासिक/सांस्कृतिक दिशा

पृथ्वीनारायण शाहले नेतृत्व गरेको पुनः एकीकरणको अभियान अगाडीसम्म नेपालमा जति पनि प्रशासनिक राज्यहरू बन्ने र भत्किने क्रमहरू देखापरेका छन्, ती कुनै पनि राष्ट्रहरू थिएनन् । त्यस्ता प्रशासनिक राज्यहरू कुनै नश्ल, जाति र धर्मको सोंचमा आधारित रहेर बनेका थिएनन् । नेपाली राष्ट्रियता भनेको यहाँको सार्वभौम भूगोलसँग जोडिएर विकास भएको ऐतिहासिक/सांस्कृतिक सम्बन्ध हो र यो समन्वयको सम्बन्धमा आधारित छ । निश्चित भूभागमा बसोबास गरेका प्रत्येक व्यक्ति, संस्था, समुदाय, संस्कृति र मूल्य-मान्यताको समन्वयबाट राष्ट्र निर्माण भएको छ । यसैकारण, पूर्वीय सभ्यतामा विकास भएका राष्ट्रहरूमा बहु-राष्ट्रियताको अस्तित्व छैन र यिनलाई नागरिक राष्ट्र  भनिन्छ । 

(ङ) राष्ट्र निर्माणमा एकीकृत भावना

नेपालको पुनः एकीकरणको महान प्रक्रियाबाट नेपाल एउटा सबल राष्ट्रको रूपमा विकास  भयो । पृथ्वीनारायण शाहले नेपाललाई सबै जातको साझा फूलबारी हो भन्ने सन्देश दिएर जाति, धर्म र संस्कृतिमा आधारित राष्ट्रलाई इन्कार गरे । यसै महान् विचारले नै नेपालले अंग्रेजहरूको साम्राज्य विस्तारको रणनीतिमा विराम लगाउन सफल भयो । त्यस महान अभियानमा निर्णायक रूपमा लड्ने योद्धाहरूको संख्या मगर, गुरूङ्ग, राई, तरैया समुदायबाट समेत उल्लेख्य रूपमा हुनुले पनि सो अभियान साम्प्रदायिक सोंचबाट नभएर राष्ट्रिय भावनाबाट ओतप्रोत थियो भन्ने तथ्य स्पष्ट हुन्छ । 

पृथ्वीनारायण शाहभन्दा अगाडी पनि नेपालको विकास र विस्तारमा मूल्यवान योगदान दिने थुप्रै राजा र नागरिहरूको तप्का थियो । तर केही चाप्लुस इतिहासकार र शासकहरूले पृथ्वीनारायण शाहको मृत्युपछि उनको योगदानलाई एउटा असल र सक्षम राष्ट्र निर्माताका रूपमा भन्दा शाहवंशका नक्षत्र र नेपालका एकमात्र भाग्य विधाताको रूपमा विद्रुपीकरण   गरे । उनीभन्दा पहिला पनि जनक, यलम्बर, मानदेव, अंशुवर्मा, नरेन्द्रदेव जस्ता राजाहरू थिए । त्यसैले पृथ्वीनारायण शाहलाई विवादमा नपार्न नेपालको इतिहासको प्रतिनिधित्व गर्ने सबै पात्रहरूको पहिचान गरेर हामीले सर्वाङ्गीण इतिहासलाई प्रकाशमा ल्याउनु पर्दछ । 

राष्ट्र निर्माणमा योद्धाको भूमिकामा होस् वा समाज सुधारकका भूमिकामा होस्, थुप्रै विभूतिहरूको मूल्यवान योगदान रहेको यथार्थता बिर्सनु हुँदैन । शंखधर शाख्वाः, बहादुर शाह, अमरसिं थापा, भक्ति थापा, बलभद्र कुँवर, भीमसेन थापा, गुरू फाल्गुनन्द, योगी नरहरीनाथ जस्ता पात्रहरू नेपाल निमाणका गौरवशाली अध्यायका रूपमा रहेका छन् । यस्ता सबै विभूतिहरूको भूमिकाका कारणले नेपालको सभ्यता, संस्कृति र भूगोल एउटा उँचाईमा पुग्न सफल भएको हो । राजा देखि नागरिक तहसम्मको यो स्वदेशी एकीकृत भावनाले नै नेपालको आजको स्वरूप विकास हुन सकेको हो भन्ने कुरामा कसैको द्विमत छैन । 

 


तृतीय अध्याय : राज्य प्रणालीको समीक्षा


 

(क) नेपालको राजनीतिक शक्ति विश्लेषण

अहिलेको परिस्थितिमा कुनै पनि दललाई निरपेक्ष रूपमा यो वा त्यो कित्तामा राखेर रूपले विश्लेषण गर्नु गलत हुन्छ । आधारभूत रूपमा सबै दलको नेतृत्व दलाल चरित्रको नै छ । दलहरूको समर्थक पंक्तिको ठूलो हिस्सा सबैतिर राम्रो पनि छ । सबै दलहरू भित्रका राम्रा तत्वहरू एकातिर र नराम्रा तत्वहरू अर्कोतिर कित्ताबन्दी हुनु पर्ने आजको आवश्यकता हो । यो कित्ताबन्दी दलका आधारमा नभएर चिन्तन, चरित्र र लक्षका आधारमा हुनु पर्दछ । कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशवादी आदिको आवरणमा रहेको आधारमा वामपन्थी, प्रजातन्त्रवादी, देशभक्त, देशद्रोही वा दलाल जस्ता कित्ता छुट्याउन सम्भव छैन । अहिले यी सबै नकावधारी कित्ताहरू एउटै दलाल चिन्तन र चरित्रका रूपमा विलय भैसकेका छन् । 

यसर्थ, देशको यतिबेलाको राष्ट्रिय संकटलाई मध्यनजर राखेर राजनीतिक शक्तिहरूको विश्लेषण देशभक्त कित्ता र दलाल कित्ताका रूपमा हुनु पर्दछ । एउटा कित्ता देशको पक्षमा र अर्को विदेशी रणनीति बोकेर देशका विरूद्धमा लागेको छ । यसकारण अबको संगठनात्मक ध्रुवीकरण पनि यही आधारमा हुँदै जान्छ । जसरी जगैबाट उत्पन्न भएको कुनै पनि संकटले नयाँ जगमा टेकेर आर्थिक, राजनीतिक एवं सामाजिक समाधान खोज्दछ त्यसैगरी संगठनात्मक (राजनीतिक नेतृत्व) समाधान पनि नयाँ जगका आधारमा खोजिनु पर्दछ । त्यसमा पनि अहिलेको संकटको सारतत्व राष्ट्रिय संकटसँग जोडिएको हुनाले ध्रुवीकरण पनि देशभक्ति र देशद्रोहीका रूपमैं हुन्छ । 

इतिहासमा सत्तावादी दलहरूको नेतृत्वको चरित्रलाई बुझ्न नसक्दा हामी राजनीतिक शक्ति विश्लेषणको मामिलामा यान्त्रिकताको शिकार भएको इतिहास छ । कांग्रेसलाई दलाल पूँजीपति वर्गको पार्टी, कथित कम्युनिष्ट पार्टीहरूलाई साम्राज्यवाद विरोधी प्रगतिशील शक्ति, राजावादीहरूलाई राष्ट्रवादी, जातिवादीहरूलाई राष्ट्रिय मुक्ति आन्दोलनवादी ठान्ने घातक सोचले देशलाई नराम्ररी दलालहरूको गोलचक्करमा फसाएको छ । हिंजो देशको समस्याको राष्ट्रिय पाटोलाई ठम्याउन नसक्दा हामी विदेशी विचार पाठशाला (स्कुलिङ) को शिकार भएका छौं । १२ बुँदे समझदारी र २०६३ सालपछिका सबैका साझा एजेन्डाहरू हेर्दा यी सबै एउटै कित्ताका लौरा हुन् भन्ने तथ्य प्रष्ट भैसकेको छ । 

 

(ख) राज्य प्रणाली र दलीयताका विशेषताहरू

१. नागरिक बिक्रीको संस्कृति

सुगौली-सन्धिपछि नेपालको ठूलो ऊर्जावान् जनशक्ति विदेशी सेवार्थ बर्बाद पारिएको   छ । यो अपराध गोर्खा ब्रिगेडका नाममा राणाहरूले बेलायतलाई देशका नागरिकहरू बेचेर वार्षिक १० लाख रूपैयाँ खान शुरु गरेपछि संस्थागत गरियो । ब्रिटीशहरूले पहिलो विश्वयुद्धमा २ लाख र दोस्रोमा ४ लाख नेपालीहरूलाई प्रयोग गरे, जसमा हजारौं मारिए वा हराए । सन् १९४७ पछि उनीहरूलाई इण्डिया र बेलायतले अंशका रूपमा बन्डा   गरे । नेपाली आमाबाबु तिनीहरूका लागि सेना जन्माइदिने कारखाना बने । शोषण, पीडा र उत्पीडनको यस्तो घृणित इतिहासलाई कथित प्रजातन्त्रकालका दलाल शासकहरूले पनि यथावत् राखे । त्यो कालो गुलामीको इतिहास अहिलेसम्म पनि ‘गोर्खाली वीरता’ को नाममा गीतका रूपमा गाउन लगाइँदै छ । 

‘गोर्खा ब्रिगेड’ को निर्माणसँगै नेपालीहरूलाई ब्रिटीशहरूको सेवा गर्न देशबाट बाहिर जाने संस्कारको विजारोपण गरियो । यसैलाई लाहुरे संस्कृति भनिन्छ । देश विकासमा ठूलो घात गरेको यस नीतिले ’जनजातीय’ तप्काको महत्वपूर्ण हिस्सालाई लाहुरे बन्न उत्प्रेरित गरेर उनीहरूलाई राज्यको समग्र संरचनामा हिस्सेदार बन्ने प्रक्रियामा अवरोध खडा गर्यो । विदेशी योजनामा स्थापित गरिएको यो षड्यन्त्रलाई अहिले तिनै विदेशीहरूले जातीय भेदभावको बहाना बनाएर साम्प्रदायिकताको बिउ रोप्ने कोशिस गरिरहेका छन् । देशको राजनीतिमा जनजातीय तप्काको ठूलो हिस्सा राज्य प्रणालीको मूल धाराबाट अलगथलग पर्नुको कारण यही हो । यो रणनीतिलाई तिनीहरूले अहिले पनि पिआर र डिभीका रूपमा उपयोग    गर्दैछन् । 

२. समस्याहरूको पुनरूत्पादन

नेपालको राज्य-प्रणाली समस्याहरूको पुनरूत्पादनको चक्रमा आधारित रहेको छ । आजसम्म जति पनि रूपरङ्गका शासन प्रणालीहरू स्थापना भएका छन्, ती कुनैले पनि देशको एउटा मूलभूत समस्याको समाधान गरेका छैनन् बरू सबैले समान रूपमा नयाँ समस्या जन्माउने गर्भका रूपमा काम गर्दै आएका छन् । नेपालीहरूलाई आफ्नो स्वार्थमा प्रयोग गर्नका लागि लोकप्रिय मुद्दा उठाउनु तर त्यो मुद्दाको समाधान नगरेर सत्ता हत्याउनु र पहिले उठाएको समस्याको गर्भमा अर्को नयाँ समस्या खडा गर्नु दलहरूको सदाबहार रणनीति बन्दै आएको छ । २००७ साल देखिको दलीय राज्य व्यवस्था प्रणालीले समस्यामाथि समस्याको चाङ थप्दै र समस्याको चक्रब्युह निर्माण गर्दै जाने गरेको यो चलाकिका पछाडिका कारणहरूलाई राम्ररी बुझ्नु पर्दछ । 

३. संकटको सघनीकरण

दलीय आन्दोलनहरू र प्रजातन्त्रका नाममा भएका प्रत्येक पछिल्ला घटनाहरू देशको संकटको सघनीकरणको दिशामा केन्द्रित रहेका छन् र अघिल्लो घटनाका तुलनामा पछिल्ला घटनाहरूले झन् गहिरो समस्या उत्पन्न गरेका छन् । २००७ सालको कथित प्रजातन्त्रले भन्दा २०४७ सालको बहुदलीय शासनले देशलाई झनै व्यापक र गहिरो समस्यामा धकेल्यो । दुवै शासनकालमा देशका श्रोत-साधनहरू र आन्तरिक सुरक्षा इण्डियन सत्ताका हातमा बेच्ने अपराध दलीय धर्मका रूपमा देखापरे । २०४७ सालको बहुदलले संस्थागत लुट र युद्धको वातावरण निर्माण गरेर देशद्रोहमा फड्को मार्यो । विदेशी शक्तिहरू र तिनका सेवक दलालहरू दुवै पक्षका एजेन्डामा शुरु भएको २०६३ सालको कथित परिवर्तनले नेपालको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा गर्यो । दलाल राज्य प्रणालीको यो चरित्रमाथि गहिरो ध्यान दिएर मात्र हामी अगाडीको निकासका बारेमा सोंच्न सक्दछौं । 

४. बहु-केन्द्रवादको दिशा

विभिन्न निहुँ वा आवरणमा थोपरिएका दलीय प्रणालीहरूले निरन्तर रूपमा राज्य र समाजलाई बहु-केन्द्रवादको दिशामा धकेल्ने योजनामा काम गर्दै आएका छन् । राज्यका निकायमा समानान्तर गिरोह र झुण्डहरूको विकास गर्नु, जातीयता, संस्कृति, भाषा, क्षेत्र जस्ता साम्प्रदायिक मुद्दाहरूमा समाजलाई विभाजित गर्ने धरातल निर्माण गर्नु, अन्तर्राष्ट्रिय गैर-सरकारी संस्था र दूताबासहरू समानान्तर सरकारका रूपमा प्रकट हुनु, माफिया सञ्जालहरूले सरकारलाई चलाउनु जस्तो परिस्थिति देश बहु-केन्द्रवादको दिशामा गैरहेका लक्षण हुन् । व्यक्ति स्वतन्त्रता र मानव अधिकारको खोलमा व्यक्तिलाई सार्वभौम बनाउने र देश, समाज जस्ता सामूहिक सम्बन्धहरूलाई नष्ट गरेर अराजकताको वातावरण सिर्जना गर्ने काम राज्य प्रणालीको पेशा नै बनिसकेको छ । 

५. विदेशी रणनीतिलाई प्राथमिकता

आजसम्मका दलीय आन्दोलनहरू बाह्य शक्तिहरूको स्वार्थका अगाडी खडा हुने गत्यावरोधहरूको समाधान गर्ने कुरामा मात्र केन्द्रित रहेका छन् । जब बाह्य शक्तिहरूलाई नेपालभित्र आफ्नो स्वार्थमा काम गर्न समस्या उत्पन्न हुन्छ, तब तिनीहरूकै योजनामा दलीय आन्दोलनहरू संगठित गरिने गरिएका छन् र आन्दोलनको सफलता पश्चात बन्ने सरकारहरूले विदेशीहरूकै कामलाई प्राथमिकता दिने गरेका   छन् । कुनै पनि पार्टीको दस्ताबेजमा समस्याग्रस्त मुद्दाका रूपमा नरहेको ‘जन्मका आधारको नागरिकता ऐन’ २०६३ सालपछि १२ बुँदे समझदारी गर्ने ८ दलको पहिलो सहमतिको मुद्दा बन्नु यसको सबैभन्दा राम्रो उदाहरण हो । 

६. यथास्थितिको बचाउ

नेपालमा भएका कुनै पनि तथाकथित परिवर्तनहरूले राज्यको नव-औपनिवेशिक संरचना र यसको पराधीन चरित्रमा फेरबदल ल्याएका छैनन् । नेपालीहरूलाई भ्रममा अल्मल्याउने कपटपूर्ण नियतले शासन प्रणालीका नाम, आवरणहरू र शासक पात्रहरू बदल्ने तर राज्यको नव-औपनिवेशिक संरचनालाई यथावत् रूपमा निरन्तरता दिने उद्देश्य नै सबै परिवर्तनहरूको सारभूत विशेषता रहेको छ । राज्यलाई निर्देशित गर्ने विचार उही, राज्य प्रणाली उही, राज्य सञ्चालन गर्ने साधन उही, संयन्त्र उही, मन्त्र उही, विधि उही, शैली उही, प्रक्रिया उही, पद्धत्ति उही, प्रणाली उही र बाह्य विदेशी शक्तिहरूप्रतिको भक्ति तथा नागरिकहरूमाथिको गुलामको ब्यबहार पनि उही रहेको छ । यो २००७ सालपछिको दलीय राज्य प्रणालीको ध्यान दिन लायक नकारात्मक विशेषता हो । 

७. राष्ट्रियता र नागरिक हितको उपेक्षा

शासक दलहरूको औपचारिक एजेन्डाका रूपमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय हित र नागरिकहरूका हक हित एवं अधिकारका प्रश्नहरूले कहिल्यै ठाउँ नपाउनु अहिलेको सत्ता राजनीतिको विशिष्ट पक्ष हो । यसका पछाडि गहिरा कारणहरू रहेका छन् । सत्ताको प्राप्तिलाई दलहरूले राजनीतिको अधिकतम् लक्ष बनाउनु तर सत्ता विदेशी शक्तिहरूको नियन्त्रणमा हुनुको कारणले सत्तामा पुग्नका लागि विदेशीहरूको दलाली गर्ने संस्कारको विकास भयो । यसले ‘विदेशीहरूको कामका लागि सत्ता’ भन्ने मनोविज्ञान हुर्कायो । दलहरूले सत्ताका लागि विदेशी बोके, विदेशीहरूले आफ्नो भरियाका रूपमा दलहरू    बोके । यसको सैद्धान्तिक आधार खडा गर्न संसदीय प्रणालीमा दलहरूलाई प्रभु ठान्ने दलीय सर्वोच्चताको सिद्धान्त स्थापित गरियो । विदेशी स्वार्थ र राष्ट्रिय स्वार्थका बीचमा मेल हुने कुरै थिएन । दल सर्वोच्च भएपछि देश र नागरिक मारिनु स्वाभाविक थियो । 

८. आयातित विचार पाठशाला (स्कूलिङ्ग)

देशमा राज्य सञ्चालनका जति पनि दृष्टिकोण, विचारधाराहरू र विचार पाठशालाहरू (स्कूलिङ्ग) अस्तित्वमा रहेका छन् ती सबै आयातित, यान्त्रिक र पराईपनमा आधारित  छन् । यस्ता विचारहरूलाई जस्ताको तस्तै आयात गरिएको छ । यस्ता पराई दृष्टिकोण, विचारधारा र विचार पाठशाला (स्कूलिङ्ग) हरूको नेपालीकरण गर्ने प्रयास गरिएको पनि छैन र नेपालको मौलिकता अनुसारका विचारहरूको विकास गर्ने दिशामा पनि कसैले सोचेको इतिहास छैन । फलतः यस प्रकारका आयातित विचारले विदेशी विषयवस्तु, पात्र र घटनाहरूप्रति आशक्ति बढाउने र स्वदेशीपनप्रति घृणा पैदा गर्ने जनशक्ति उत्पादन गरेका  छन् । 

९. नव-औपनिवेशिकताको विस्तार

२००७ सालपछिको कथित प्रजातान्त्रिक शासन प्रणालीको अर्को उल्लेखनीय विषेषता भनेको नेपालमा हुँदै आएको बाह्य हस्तक्षेपलाई सामान्यीकरण गर्नु र आम नेपालीहरूमा नव-औपनिवेशिक गुलाम मनोविज्ञानको विकास गर्न भूमिका खेल्नु रहेको छ । नेपालमा लामो समयदेखि हुँदै आएको ईण्डो-पश्चिमा शक्तिहरूको हस्तक्षेपलाई कथित नव-उदारवाद, बजारवाद, भू-मण्डलीकरण, प्राविधिक क्रान्तिका बहानामा सामान्यीकरण गर्ने तथा यस्तो हस्तक्षेपलाई स्वाभाविक देखाउने प्रयत्न हुँदै आएको छ । विदेशी शक्तिहरूको दलाली गर्नुलाई राजनीतिको नियतिका रूपमा देखाएर देशलाई स्वाधीन बन्न नदिने प्रपञ्च यसका पछाडिको मुख्य कारण हो । 

१०. आयातित प्रणालीमा निर्भरता

एकातिर राज्य प्रणाली आयातित छ र अर्कोतिर देश नव-औपनिवेशिक दासत्वबाट गुज्रिरहेको छ । यसको अर्थ हो, यहाँको सत्ता बाह्य शक्तिहरूको नियन्त्रणमा छ । सत्ताको लगाम विदेशी शक्तिहरूका हातमा हुनु, दलहरूले आफ्नो अधिकतम् लक्ष सत्ता प्राप्तिलाई बनाउनु तर सत्ताको लगाम विदेशी शक्तिहरूका हातमा नियन्त्रित हुनुका कारणले सत्तामा पुग्नका लागि दलहरूले विदेशी शक्तिहरूको दलाली गर्दै आएका छन् । यसले राष्ट्रियता, राष्ट्र हित र नागरिकहरूका विषयहरू उपेक्षामा पर्नु स्वाभाविक छ । यो नव-औपनिवेशिक राज्य प्रणाली रहेसम्म परिस्थितिमा सुधार हुने ठाउँ नै हुँदैन । 

११. आन्दोलनहरूको नाभि देश बाहिर

सबै रूपरङ्गका दलीय आन्दोलनहरूको उत्थान र समापनको नाभि दिल्लीको सत्ता वरिपरि रहेको छ । २००७ साल, २०४६ साल र २०६२ सालका दलीय आन्दोलनहरूको उठान र समापन दिल्लीकै रणनीतिक योजनामा भएका छन् । माओवादीका नामबाट थोपरिएको युद्धको थालनीदेखि विसर्जनसम्ममा त्यसकै सकृय एवं प्रष्ट संलग्नता रहेको छ । दलीय आन्दोलनको इतिहास हेर्दा प्रष्ट रूपमा के देखिन्छ भने कुनै पनि आन्दोलनहरू नेपाली जनताको आवश्यकतामा नेपाली भूमिबाट उत्पत्ति भएका छैनन् । संविधान निर्माणको बेला ईण्डियन शासकहरूले आफूलाई संघीय लोकतन्त्रको साझेदार दावी गर्दै आफ्ना मागहरू संविधानमा उल्लेख गर्नुपर्ने दावी सहित नागरिकता ऐनलाई अझ खुकुलो बनाउन भनि दिएको दवाव र त्यसैसँग जोडिएको २०७२ सालको नाकाबन्दीले दलीय आन्दोलनका नाममा गरिने परिवर्तनहरू कसका लागि हुने गरेका छन् भन्ने कुरा छर्लङ्ग   हुन्छ । 

१२. दलीय सर्वोच्चता

नेपालमा प्रचलित दलीय सिद्धान्तले राष्ट्रलाई सर्वोच्च मान्दैन । यो दलीय सर्वोच्चताको सिद्धान्तमा आधारित छ । देश र नागरिकभन्दा दल ठूलो हो भन्ने मान्यताका आधारमा दलहरूका वरिपरि जनतालाई विभाजित गरिएको छ र दलका अपराधहरूको विरोध गर्नुलाई प्रजातन्त्रको विरोधका रूपमा परिभाषित गरिएको छ । यति मात्र नभई सत्ता प्राप्तिका लागि जस्तोसुकै अनैतिक एवं आपराधिक काम पनि सही हुन्छ भन्ने सोंचका आधारमा दलीय शासनको अभ्यास गरिएको छ । दलीय सर्वोच्चताको सिद्धान्त राष्ट्र र जनतालाई कतै स्थान नदिने बाह्य डिजाइन अनुसार स्थापित गरिएको सिद्धान्त हो । 

१३. देश र जनताप्रति विश्वासघात

दलीय आन्दोलनको अर्को खतरनाक प्रवृत्ति भनेको देश र जनताप्रति घात गर्नु हो । २००७ सालदेखि आजसम्मको इतिहास हेर्ने हो भने दलहरूले आधारभूत रूपमा देश र जनताप्रति धोकाधडी मात्र गरेका छन् । देशको सार्वभौमिकता र अखण्डतालाई कमजोर बनाउनु, नागरिकहरूको जीवनलाई संकटपूर्ण बनाउँदै लैजानु र विदेशीहरूका स्वार्थका मुद्दाहरू कार्यान्वयन गर्न प्रतिस्पर्धा गर्नु नै दलहरूको मूल धर्म रहेको छ । देश र नागरिकहरूको अहिलेको अवस्था हेर्ने हो भने नेपालको दलीय प्रणाली देशको अभिशापका रूपमा विदेशीहरूले बनाएको चक्रब्यूह हो भन्ने निष्कर्षमा पुग्नु पर्दछ । 

 


चतुर्थ अध्याय :  त्रिमूल नेपाल गठन गर्नुपर्ने अवस्था किन आयो ?


 

यतिबेला हाम्रो देश चौतर्फि रिक्तता वा खालिपनको समस्याबाट गुज्रिरहेको छ । सोचमा रिक्तता, विचारमा रिक्तता, मूल्य-मान्यतामा रिक्तता, शक्ति सन्तुलनमा रिक्तता, विकल्पमा रिक्तता, विकासमा दीर्घकालीन गत्यवरोध लगायतका खतरनाक समस्याहरू विकास हुने खतरा तिव्र बन्दै गएको    छ । यसको अर्थ हो – देशमा दिशा विहीनता, स्वेच्छाचारिता, अराजकता र बहु-आयामिक द्वन्दको अवस्था सिर्जना हुने सम्भावना । यस्तो अवस्था ईण्डो-पश्चिमा साम्राज्यवादी शक्तिहरूको सुनियोजित रणनीतिबाट सिर्जना भैरहेको छ । 

यो अवस्था विश्वको विकास प्रक्रियाको अभिन्न अङ्गका रूपमा सिर्जना भएको छ । आधुनिकतावादका नाममा स्थापित गरिएको वर्तमान विश्व प्रणालीसँग जोडिएका सोच र मूल्यहरूको विघटनको प्रक्रिया शुरु भएको  छ । यसका पछाडि खासमा दुई थरीका कारणहरू देखिन्छन् । एउटा कारण विश्वको विविधतालाई अस्वीकार गरेर शक्तिशालीहरूको प्रभुत्वको मान्यतामा विकास गरिएका मूल्यहरू सबै माथि थोपर्नु हो । अर्को हो, नाफाको सिद्धान्तका आडमा वेलगाम भएको हिंसा, लुट र प्रकृतिको असन्तुलित दोहन । 

चौतर्फि रिक्तताको समस्या नेपालमा मात्र नभएर विश्वव्यापी रूपमा देखापरेको परिघटना हो । त्यसैले यसको गहिरो प्रभाव नेपालमा पनि परिरहेको छ । अहिले विश्वब्यापी रूपमा नै प्रचलित दृष्टिकोण, विचारधारा, मूल्य-मान्यता, राज्य प्रणाली, जीवन पद्धतिको विकल्पको खोजी भैरहेको  छ । यस्तो विकल्पको खोजीको आधार आफ्नो मौलिकतामा केन्द्रित हुनु नै वर्तमानको सबैभन्दा सकारात्मक परिदृश्य हो । संसारका अधिकांश विकसित भनिएका देशहरूमा जगैदेखि द्वन्दका लक्षणहरू देखापर्नुको कारण पनि यही नै हो । 

सत्ता रिक्तताको विकाससँगै कायम रहेको विकल्प विहीनताको अवस्थाले अनियन्त्रित र अन्त्यहीन विष्फोट हुने खतरा हुन्छ । नेपाललाई अस्थिर बनाएर यसको विखण्डन गर्ने वा असफल राज्यका रूपमा परिणत गरेर आफ्नो सामरिक स्वार्थ पूरा गर्ने बाह्य शक्तिहरूको यो रणनीतिक षड्यन्त्रको सामना गरेर आम नागरिकलाई एउटा सकारात्मक समाधानको दिशामा संगठित गर्नु जिम्मेवार राजनीतिक शक्तिको यतिबेलाको जरूरी कार्यभार हो । यसैका लागि त्रिमूल नेपालको गठन जरूरी काम बन्न  गयो । 

देशको सार्वभौमिकता, अखण्डता, विकास र समृद्धिसँग जोडिएका माथि उल्लेखित विषयलाई समष्टिमा आत्मसात गर्ने र यसको सर्वाङ्गीण समाधान खोज्ने कुनै राजनीतिक शक्तिको अस्तित्व नेपालमा छैन । त्यसैले यस अभिभारालाई हामीले नै अगाडी बढाउनु पर्ने यथार्थता देश, काल र परिस्थितिको माग हो । विश्वमा विकास हुँदै गएको उथलपुथलकारी प्रवृत्ति र त्यसकै लयमा हिंडिरहेको नेपालको समग्र परिस्थितिलाई ध्यान दिने हो भने संकट समाधानको अर्को विकल्प छैन भन्ने कुरामा हामी स्पष्ट हुनु पर्दछ ।