खण्ड (घ) : परिशिष्ट

 


त्रिमूल नेपाल अन्य दलहरूभन्दा गुणात्मक रूपमैं भिन्न के के कुरामा छ ?


 

त्रिमूल नेपाल नेपालमा आस्तित्वमा रहेका दलहरूको झुण्डमा थपिएको अर्को एउटा दल होईन । यो दलहरूको संख्यामा थप भएको अर्को संख्या मात्र होईन । यसको जग गुणात्मक रूपमैं फरक छ । जग नै फरक भएको हुनाले यसले अवलम्बन गर्न खोजेको विचार पनि फरक छ । विचार फरक भएको हुनाले यसले आत्मसात गरेका अवधारणा र मूल्य-मान्यताहरू पनि फरक छन् । चलनचल्तिमा रहेका दलहरूभन्दा त्रिमूल नेपाल गुणात्मक रूपमैं भिन्न के कुरामा छ ?

यो प्रश्नलाई हामीले सर्वाङ्गीण कोणबाट जबाफ दिन आवश्यक छ । त्रिमूल नेपालका दस्ताबेजहरूमा यसको पर्याप्त जबाफ पाईनेछ । यस्ता जबाफहरू चिन्तन प्रणाली, विचारधारा, अवधारणाहरू, मूल्य-मान्यताहरू, राज्य प्रणाली, समाज, व्यक्ति आदि सबै क्षेत्रमा समेटिएका छन् ।  यी सबै मौलिकताहरूलाई समेट्ने त्रिमूल नेपालका प्रमुख सैद्धान्तिक आधारहरू के हुन् भन्ने कुरालाई यो परिशिष्टमा समेटिएको छ, जसले दलको आफ्नोपनको परिचय दिन्छन् । 

 

मौलिकतामा आधारित स्वदेशी विचार पाठशाला

त्रिमूल नेपालका दस्ताबेजहरू स्वदेशी मौलिक सोंच र विचारहरूमा आधारित छन् । यस अर्थमा त्रिमूल नेपाल आफैमा एउटा विचार पाठशाला हो । नेपालमा जति पनि आर्थिक, राजनीतिक, समाजिक, सांस्कृतिक एवं नैतिक विचारधाराहरू छन्, यि सबै बाहिरबाट आयात गरिएका छन् । यस्ता विचारधाराहरूको पृष्ठभूमि, परिवेश र प्रयोगका सन्दर्भहरू सबै विदेशी छन् । त्यसैले यस्ता विचारधाराहरूमा आधारित अवधारणा र मूल्य-मान्यताहरूले नेपालमा काम गर्न सकेनन् । 

नेपालको सभ्यता, यहाँको समाज, यहाँका संस्कृतिहरू, यहाँको जलवायु र माटो, नेपालीहरूका बीचको सामाजिक सम्बन्ध, नेपालमा रहेका प्राकृतिक श्रोत-साधनहरू तथा यहाँ बसोबास गर्ने मानिसहरूको आवश्यकतालाई ध्यानमा राखेर मौलिक विचार, अवधारणा र मूल्य-मान्यताहरूको विकास गर्ने प्रयास भएको छैन । त्यसैले हाम्रो स्वदेशीपनको विशेषता एकातिर र यहाँ आरोपित गरिएका विचारहरू अर्को दिशातिर हुन जानुका कारणले उत्पन्न भएको विरोधाभासमा हामी फसिरहेका छौं । 

यो विरोधाभास नै देशको संकटको मुख्य कारण हो । अतः यसको दिगो समाधान खोज्ने हो भने मौलिकतामा आधारित स्वदेशी चिन्तन पद्धतिका आधारमा हामीले आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, नैतिक, मनोबैज्ञानिक, व्यक्तिगत सबै क्षेत्रहरूमा मौलिक अवधारणाहरू र मूल्य-मान्यताहरूको विकास गर्न एकदमैं जरूरी छ । आधुनिकतावादको नाममा आयात गरिएको पश्चिमा विचारको परित्याग गरी आफ्नै मौलिक विचार पाठशालाको विकास गर्नु पर्दछ । 

 

युगान्तकारी परिवर्तन

सुगौ-सन्धिपछि विदेशीहरूको स्वार्थमा निर्माण गरिएको र विभिन्न अपमानजनक सन्धि-सम्झौताहरूबाट आड दिइएको वर्तमान राज्य संरचनाले नेपाल र नेपालीहरूलाई उँभो लगाउने सम्भावना छैन । यो नव-औपनिवेशिक संरचना हो । यसलाई जगैबाट नउखेलिकन र देशको मौलिकता तथा नेपालीहरूको आवश्यकतामा आधार बनाएर राज्यको पुनः संरचना नगर्दासम्म वर्तमान संकटको समाधान सम्भव छैन । यसर्थ, त्रिमूल नेपालले सुगौली-सन्धिपछिको नव-औपनिवेशिक युगको अन्त्यको युगान्तकारी परिवर्तनको आावाजलाई अगाडी बढाएको छ । 

 

पुनर्जागरण आन्दोलन

पुनर्जागरण आन्दोलन नेपालका लागि मौलिक विचार पाठशालाको अभिन्न अङ्ग हो । पश्चिमा आधुनिकतावादी उपभोक्तावादी विचारको प्रभावका कारण हामीले आफ्नोपन गुमाएका छौं । हामीमा प्रचलनमा रहेका चिन्तन प्रणालीहरू, विचारधाराहरू, अवधारणा, मूल्य-मान्यताहरू, आचरण, व्यवहार, जीवन पद्धति, मनोविज्ञान पश्चिमा प्रभावबाट निर्देशित छन् । हामी सबै क्षेत्रमा विदेशीकरण भएका छौं । पश्चिमा सभ्यताको दुष्प्रभावले हामीमा कुण्ठा, हिनताबोध, गुलाम मानसिकताको विकास भएर आत्मविश्वास नै गुमाएको अवस्थामा छौं । 

वैचारिक भ्रष्टताबाट उत्पन्न यो समस्या निकै गम्भीर छ । हामीले आफ्नो जग निर्माण नगरिकन देशको संकटसँग लड्न सम्भव हुँदैन । त्यसैले, सर्वव्यापी विदेशिकरणको दुष्प्रभावबाट मुक्त हुनका लागि हामीले आफ्नो सभ्यतादेखिका मौलिक चिन्तन, विचारहरू, मूल्यहरू, जीवन पद्धति र व्यवहारहरूलाई कसरी पुनःस्थापित गर्ने भन्ने समस्या हाम्रो लडाईंको निकै महत्वपूर्ण पक्ष हो । हामीहरू शिरदेखि खुट्टासम्म नेपाली नबनिकन आजको विदेशी प्रभाव, गुलामी र विदेशी राज्य प्रणालीको सास्तिबाट बाहिर निस्कन असम्भव छ ।  

  

राष्ट्रको सर्वोपरिता (राष्ट्र पहिलो)

नेपालमा हस्तान्तरण गरिएको कथित संसदीय मान्यतामा आधारित कथित प्रजातन्त्रले दललाई सर्वोपरि मान्दछ । यसले दलीयता र दलहरूको सर्वोच्चताको अभावमा प्रजातन्त्र नहुने सिद्धान्तको पक्षपोषण गर्दछ । यही मान्यताका कारणले संसदीय दलीय प्रणालीमा देश, समाज र नागरिकहरू सँधै अपमानित र प्रताडित हुँदै आए । दलहरूको स्वेच्छाचारिता, अराजकता, लुट र निषेधका प्रवृत्तिहरू संस्थागत रूपमा विकास भए । प्रजातन्त्र भनेको दलहरूको मनपरी गर्ने अधिकार हो भन्ने संस्कृतिको विकास भयो । 

हामी यसको विरूद्धमा छौं । त्रिमूल नेपाल राष्ट्रलाई पहिलो मानेर राजनीतिक संस्कृतिको विकास गर्नुपर्ने मान्यतामा आधारित छ । राष्ट्र नै राजनीतिको निर्देशक विचार हो र जुन शासन प्रणालीमा नागरिकहरू अधिकार सम्पन्न, खुसी एवं सुखि हुन्छन् र सामाजिक सद्भावको भरपर्दो परिवेश निर्माण हुन्छ, त्यही नै प्रजातन्त्र हो भन्ने कुरामा त्रिमूल नेपाल स्पष्ट छ । प्रजातन्त्रको पर्याय सुख, शान्ति र नागरिक सन्तुष्टि हो । दलहरू हुनु र नहुनुले प्रजातन्त्रलाई परिभाषित गर्न सक्दैन । 

 

माटोको संस्कृति र दिगो विकासको परिकल्पना

त्रिमूल नेपालले माटोको संस्कृतिको मर्मलाई तीन वटा अर्थहरूमा आत्मसात गरेको छ । यसको एउटा अर्थ स्वदेशीपन भन्ने हुन्छ । हामी जे गछौं त्यो सबै स्वदेशीपनमा आधारित हुनु पर्दछ । यसको दोश्रो अर्थ जन्मभूमि भन्ने हुन्छ । हामी यही माटोमा जन्मेका छौं र यही माटोका उत्पादन खाएर बाँचेका छौं । माटो भनेको हाम्रो जन्म र लालनपालनको आधार हो । यसर्थ, माटो भनेको जन्मभूमि वा मातृभूमि हो । यसप्रति घात गर्नु भनेको आफुलाई जन्म दिने आफ्नै आमाप्रति घात गरे जस्तै  हो । 

हामीले माटोको तेश्रो अर्थलाई पर्यावरणीय सन्तलुनको सुरक्षाका रूपमा लिएका छौं । पूँजीवादी आर्थिक सिद्धान्तले बढीभन्दा बढी धन कमाउने नाममा पर्यावरणको सन्तुलन चौपट बनाएको छ र अकल्पनीय विपत्ति तथा रोगहरू उत्पन्न गरेको छ । यसबाट जोगिनका लागि माटोको पुनरूत्पादन क्षमतामा ह्रास आउन नदिने गरी मात्र विकासका योजनाहरू बनाउनु पर्दछ भन्ने हाम्रो मान्यता छ । माटोको गुणमा कायम रहने सन्तुलनले बाँकी सबै जीव र वनस्पतिका बीचको सम्बन्धमा सन्तुलन ल्याउँछ । 

दिगो अर्थात् अक्षय विकासको सम्भावना माटोको संस्कृतिले मात्र हासिल गर्न सक्दछ । माटोलाई श्रृष्टिको निरन्तरताको आधार मान्ने हो भने यसको पुनरूत्पादन गर्ने क्षमतालाई सुरक्षित राख्नु पर्दछ । माटो सुरक्षित भयो भने अन्य जीवजन्तु र वनस्पतिहरू सुरक्षित हुन्छन् । सबैको सुरक्षाले मात्र पर्यावरणमा सन्तुलन कायम गर्न सक्दछ । यस्तो सन्तुलन नै कहिल्यै ह्रास नहुने उत्पादनको ग्यारेन्टी हो । उत्पादनमा ह्रास आउनु, मानिसहरू जन्मैदेखि विभिन्न रोगहरूबाट ग्रस्त हुँदै जानुको कारण नै माटोमा हुन गएको क्षति हो । 

 

समाज केन्द्रित राष्ट्रिय विचारधारा

त्रिमूल नेपालले विकास गर्न चाहेको विचारधाराका २ वटा पाटाहरू छन् । एकातिर यो समाज केन्द्रित छ र अर्कोतिर यो राष्ट्रिय चरित्रको छ । समाज केन्द्रित सोंचले स्थानीय समुदायलाई आर्थिक, राजनीतिक एवं सामाजिक-सांस्कृतिक रूपमा कसरी बलियो बनाउने भन्ने कुरासँग चासो राख्दछ भने राष्ट्रिय सोंचले वर्तमान राष्ट्रिय संकटको समाधानका लागि आम नेपालीहरूलाई कुनै वाद, वर्ग, वा सम्प्रदायका बहानामा विभाजित हुन नदिएर सबै देशभक्तहरूलाई राष्ट्रका नाममा एउटै छातामा कसरी संगठित गर्ने भन्ने प्रश्नसँग चासो राख्दछ । 

त्रिमूल नेपालले व्यक्ति विशेष, वर्ग विशेष वा सम्प्रदाय विशेष तप्कालाई राज्यसत्ताको केन्द्रबिन्दुमा राख्ने सिद्धान्तलाई अस्वीकार गरेर समाज केन्द्रित राष्ट्रिय विचारधारालाई आत्मसात गरेको छ । यसका २ वटा कारणहरू रहेका छन् । पहिलो कारण हो – हालसम्म प्रयोग गरिएका पूँजीवादी र समाजवादी राज्य प्रणालीहरूमा नागरिक वा वर्ग दुवैका नाममा सत्तामा एउटा अभिजात वर्गको प्रभुत्व छ, जो दलमा पनि प्रभुत्वशाली छ । तर दुवै शासन प्रणालीहरूमा भुइतहमा रहेको समुदाय सत्ता विहीन कामदारका रूपमा मात्र सीमित रहेको छ । 

यस्ता समस्याहरूबाट जोगिएर नागरिकहरूको योगका रूपमा भुई तहमा रहेको समुदायलाई कसरी बलियो बनाउने भन्ने कुरामा ध्यान दिन जरूरी छ । समुदाय बलियो बनाउन त्रिमूल नेपालले प्रत्याह्वान, अस्वीकार र विकल्प प्रस्तुत गर्ने अधिकार सहितको स्थानीय स्वशासनको पक्ष पोषण गरेको छ । समाजलाई आर्थिक रूपमा बलियो बनाउन सामुदायिक अर्थतन्त्रलाई मेरूदण्ड बनाएर मिश्रित अर्थतन्त्रको विकास गर्ने भनेको छ भने सबै संस्कृतिहरूको विशिष्ट पहिचानको संरक्षण गरी समन्वयात्मक दिशाबाट अघि बढ्ने नीति लिएको छ । 

राष्ट्र, समाज, परिवार जस्ता सामूहिक संरचनाहरू नष्ट गरेर व्यक्ति स्वतन्त्रताका नाममा व्यक्तिलाई सार्वभौम बनाएर धुरीमा राख्ने र व्यक्तिको उभोक्तावादीकरण गरेर समाजलाई अराजकताको थलो बनाउने पश्चिमा व्यक्ति केन्द्रित विचारधारालाई अस्वीकार गरी त्रिमूल नेपालले राष्ट्र, समाज र परिवारको सदस्यका रूपमा व्यक्ति त्यसको मातहत रहने, मानिसलाई अधिकार प्रधान नभएर कर्तव्य प्रधान बनाउने, सामाजिक मूल्य-मान्यता र सामाजिक हितमाथि आँच आउने गरी व्यक्ति स्वतन्त्रताको पक्षपोषण नगर्ने विचार अवलम्बन गरेको छ । 

समाज केन्द्रित राष्ट्रिय विचारधारा अपनाउनुको दोश्रो कारण देशको वर्तमान संकट हो । अहिले विदेशी साम्राज्यवादीहरू र त्यसका दलालहरूले विभिन्न बहानामा देशभक्त नेपालीहरूका बीचमा विभाजन ल्याएर देशको अस्तित्वमाथि चुनौति दिन खोजेका छन् । यसका लागि तिनीहरूले जातीयता, धार्मिक पन्थ, भाषा, क्षेत्रलाई एक अर्काका विरूद्धमा उचालेर जुट्न नदिने रणनीति बनाएका छन् । फुटाउने र शासन गर्ने यो साम्राज्यवादी रणनीतिको सामना गर्न सबै देशभक्त नेपालीहरूलाई एकतावद्ध बनाउनका लागि समाज केन्द्रित विचारधाराको खाँचो छ । 

 

विशिष्ट समाज र संस्कृति/विशिष्ट पहिचान

दुनियाँमा जति पनि समाज र संस्कृतिहरू छन्, ती सबै एक अर्काबाट विशिष्ट र मौलिक रूपमैं फरक छन् । सम्बन्धित ठाउँको हावापानी, माटो, वनस्पति र मानिसहरूको त्यस्तै सामाजिक सम्बन्ध र संस्कृतिहरूको विकास भएको हुन्छ । यो नै समाज र संस्कृतिहरूको पहिचान हो । यस्ता पृथक पृथक सामाजिक सम्बन्ध र संस्कृतिहरू एउटै कानुन र व्यवस्थाबाट निर्देशित हुन सक्दैनन् । कानुन व्यवस्था मूलतः दण्ड व्यवस्था हो । समाजमा शान्ति र स्थिरता कायम गर्नका लागि कानुन चाहिन्छ तर कानुनहरू मूल्य र नैतिकतामा आधारित नभैकन राज्य व्यवस्था चल्न सम्भव हुँदैन । 

संस्कृतिहरूको विशिष्ट पहिचानलाई स्वीकार गर्ने हो भने यसले स्थानीय स्वशासनको माग गर्दछ । स्वशासित क्षेत्रहरूलाई आदर्शपरक बनाउने हो भने त्यसले मूल्यमा आधारित नैतिक शासनको माग गर्दछ । त्यसैले, एउटै प्रकृतिको व्यवस्था वा सामाजिक मूल्य र नैतिकता विनाको कानुनको शासन भन्ने कुराहरू भ्रममा आधारित अवधारणाहरू हुन् । समाज विशिष्ट छ र संस्कृतिहरूको पहिचान पनि विशिष्ट छ भने व्यवस्थाहरू पनि विशिष्ट प्रकारका नै हुन्छन् । त्यसैले, त्रिमूल नेपालले, विशिष्ट समाजहरू, विशिष्ट संस्कृतिहरू र विशिष्ट प्रकारका स्वशासित क्षेत्रहरूको पक्षपोषण गरेको छ । 

 

जैव-सामाजिक संस्कृति

संस्कृतिको कुरा गर्दा यसका विभिन्न रूपहरूका बारेमा हाम्रो ध्यान जानु पर्दछ । संस्कृतिको एउटा रूप आत्मिक प्रकारको हुन्छ । नैतिकता, शिष्टाचार, आदत, ध्यान, चिन्तन, योग, पूजाआजा, संस्कार जस्ता कुराहरू आत्मिक संस्कृतिका रूपहरू हुन् । मानिसले निर्माण गरेका कलाकृति, प्रविधि, उत्पादनका साधनहरू, पूजास्थल, भवन, जहाज, शहरी जीवन जस्ता कुराहरू भौतिक संस्कृतिमा पर्दछन् । यी दुवै प्रकारका संस्कृतिहरूले जब सामाजिक रूप धारण गर्दछन्, तब सामाजिक संस्कृतिको विकास हुन्छ र यो मेला, जात्रा, चाडपर्वका रूपमा देखापर्दछ । तर सुखी जीवनका लागि आत्मिक वा भौतिक संस्कृतिले सामाजिक संस्कृतिका रूपमा विकास गरेर मात्र पुग्दैन । 

सामाजिक संस्कृतिले जैव-सामाजिक संस्कृतिका रूपमा विकास गर्न सक्यो भने मात्र त्यो जीवनदायी बन्न जान्छ । मानिसले विकास गरेका आत्मिक र भौतिक संस्कृतिहरू अन्य जीवजन्तु, वनस्पती र प्राकृतिक परिवेशमैत्री भएनन भने ती निषेधकारी बन्न जान्छन् । आजको मानिसले आत्मिक र भौतिक संस्कृतिमा अकल्पनीय विकास गरेको छ र विश्वमा विभिन्न रूपका सामाजिक संस्कृतिहरूको विकास पनि भएको छ, अथाह सम्पत्ति जोडेको छ तर किन मानिस झनै विक्षिप्त, दुखी र रोगी बन्दै गएको छ ? यसको कारण हो, मानिसले क्षणिक भौतिक स्वार्थका लागि अन्य जीव जगत र प्रकृतिलाई मार्नु वा जीवनका लागि जरूरी सन्तुलनलाई नष्ट गर्नु । 

यसैको असन्तुलनले मानवीय जीवन कष्टकर बनेको छ । यसैले, हामीले जैव-सामाजिक संस्कृतिको विकासमा जोड दिनु पर्दछ । आत्मिक, भौतिक रूपमा विकास भएको सामाजिक संस्कृतिले जैव-सामाजिक संस्कृतिका रूपमा आफुलाई प्राकृतिसँगको सम्बन्धमा सन्तुलित र अनुकुल बनाउन सक्यो भने मात्र त्यो वास्तविक जीवनदायी संस्कृति बन्दछ । जैव-सामाजिक संस्कृति भनेको मानिससँग प्रकृतिको अविच्छिन्न सम्बन्धमा आधारित रहेर विकास गरिने सामाजिक संस्कृति हो । विशेषगरी यसको सम्बन्ध मानिस र अन्य जीव तथा वनस्पति जगतसँगको सम्बन्धमा आधारित   हुन्छ । हामीले यही संस्कृतिलाई विकास गर्ने प्रश्नमा ध्यान दिनु पर्दछ । 

 

गणराज्य समाज व्यवस्था

त्रिमूल नेपालको रणनीतिक लक्ष देशमा गणराज्य समाज व्यवस्थाको स्थापना गर्नु हो । गण भनेको अधिकार सहितको कर्तव्यनिष्ठ मानिसहरूको समूह हो । गण भनेको कुनै निश्चित इलाकामा एक प्रकारको सम्बन्ध बनाएर बसोबास गर्ने नागरिकहरूको समूह हो । गण समूहहरूको बृहत र पूणर् रूप समाज हो । समाज गणहरूको बृहत रूप र आयाम हो, जसमा संस्कृति, संस्कार, मूल्य-मान्यता, आपसी सम्बन्ध जस्ता सबै पक्षहरू समेटिएका हुन्छन् । राज्य भनेको समाज व्यवस्थाको कानुनी संरचना हो । 

त्यसैले, गणराज्य व्यवस्था समाज केन्द्रित व्यवस्था हो । जुन व्यवस्था समाज केन्द्रित हुन्छ, प्रजातन्त्र त्यही हो । किनभने समाजले नै आम मानिसहरूको प्रतिनिधित्व गरेको हुन्छ । समाजलाई मूल्य र नैतिक आदर्शहरूले निर्देशित गरेका हुन्छन् । पश्चिमा चिन्तनमा आधारित निषेध (प्रतिस्पर्धा), दण्डपरक कानुनी मान्यता र प्रतिनिधित्वका लागि चुनावका नाममा गरिने अनुमोदन प्रथाले प्रजातन्त्रको प्रतिनिधित्व गर्दैन । मानिसको भावनाको प्रतिनिधित्व कानुनले गर्दैन । कानुन र मानवीय भावनाका बीचमा गहिरो अन्तर्विरोध हुन्छ । 

 

अन्तर्निर्भर सर्वाङ्गीण दृष्टिकोण

अन्तर्निर्भर सर्वाङ्गीण दृष्टिकोण सन्तुलित विकासको सिद्धान्त हो । अन्तर्निर्भरताको सिद्धान्तले आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक कुनै पनि क्षेत्रका विषयहरूलाई एक अर्काबाट अलग गरेर हेर्दैन । यसले के ठान्दछ भने एउटा क्षेत्रमा हुने उन्नति वा अवनतिले अर्को क्षेत्रमा पनि सोही अनुरूपको असर पार्दछ । त्यसैले एउटा क्षेत्रको विकास वा एउटा क्षेत्रको समस्याको समाधानको कुरा गर्दा त्यसले अर्को क्षेत्रमा पार्ने प्रभावलाई साथसाथै ध्यान दिनु पर्दछ । अन्तर्निर्भरता शरीर र यसका अङ्गहरू जस्तै एक प्रकारको आङ्गिक प्रणाली हो । 

देशको अहिलेको संकटको राजनीतिक समाधानको कुरा गरेर मात्र पुग्दैन । आर्थिक विकास एवं सभ्यता र संस्कृतिहरूको संरक्षण भएन भने राजनीतिक समाधानले मात्र काम गर्दैन भन्ने कुरा पनि बुझ्नु पर्दछ । राजनीतिक रूपमा परिवर्तन त भयो र नागरिकहरूका शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा जस्ता समस्याहरू समाधान भएनन् भने त्यस्तो परिवर्तन पनि काम लाग्दैन । त्यसैले सबै समस्या र त्यससँग जोडिएका समाधानहरू एक अर्कासँग अन्तर्निर्भर छन् भन्ने कुरा बुझ्नु पर्दछ । समस्या र समाधानलाई हेर्ने यो नै उचित दृष्टिकोण हो । 

सर्वाङ्गीण दृष्टिकोण भनेको सबै अङ्गहरूको एकमुष्ट समाधान खोज्नु भनेको हो । जुन समस्याहरू एक अर्कासँग जोडिएका छन्, तिनीहरूलाई एक अर्काबाट पृथक राखेर बुझ्नु हुँदैन र सबै समस्याहरूको समाधान एकमुष्ट रूपमा एउटै डालोमा खोज्नु पर्दछ भन्ने सोंच नै अन्तर्निर्भर सर्वाङ्गीण दृष्टिकोण हो । त्रिमूल नेपालले स्थिरता, शान्ति र दिगो विकासका लागि यही दृष्टिकोण अवलम्बन गरेर जानु पर्दछ भन्ने निष्कर्ष निकालेको छ । यस्तो दृष्टिकोणको अभावमा नै आज देशमा लोकतन्त्रको ढोल बज्नुका बाबजुद दलालहरूको अराजक शासन छ । 

 

कर्तब्य प्रधान नागरिक

त्रिमूल नेपालको एउटा महत्वपूर्ण निष्कर्ष कर्तब्य प्रधान नैतिक मानिसको निर्माण गर्ने परिकल्पना   हो । आधुनिकतावादको उत्कर्षका रूपमा विकास भएको नव-उदारवादले व्यक्तिगत स्वतन्त्रताका बहानामा व्यक्तिलाई सार्वभौम बनाएको छ । यसो गर्नुको एउटा कारण समाज र परिवार जस्ता सामूहिक संरचनाहरूलाई नष्ट गर्नु र व्यक्तिलाई उपभोक्तामा परिणत गरेर आफ्नो बजार विस्तार गर्नु रहेको छ । यसको अर्को कारण हो, पूर्वीय सभ्यताले विकास गरेको सामाजिक भावनालाई छिन्नभिन्न पारेर पश्चिमा व्यक्तिवादलाई स्थापित गर्नु । 

यो षड्यन्त्रको असर आज हामीले देशमा व्यहोरिरहेका छौं । अहिले नेपालमा कर्तव्यको पक्षमा कुरा गर्ने कुनै व्यक्ति, संस्था र दल छैन । सबैले अधिकारको मात्र कुरा गरिरहेका छन् । अधिकारका नाममा सबैले एकअर्कालाई निषेध गर्ने मनोवृति बनाएर अगाडी बढिरहेका छन् । यसबाट मानिस चरम अनैतिक र गैर-जिम्मेवार बन्दै गएको छ । देश, समाज र परिवार भाँडिनुको कारण यही हो । यो अधोगतिलाई रोकेर मानिसलाई कसरी कर्तव्य प्रधान नैतिक मानिस बनाउने भन्ने समस्या हाम्रा अगाडी ठूलो चुनौतिका रूपमा खडा भएको छ ।

 

विदेशी गत्यावरोध टार्न आन्दोलन र परिवर्तन

नेपालमा भएका दलीय आन्दोलन र त्यसबाट भएका भनिएका कथित परिवर्तनहरूका बारेमा त्रिमूल नेपालको नितान्त फरक निष्कर्ष रहेको छ । त्रिमूल नेपालले २००७ सालदेखि हुँदै आएका कुनै पनि दलीय आन्दोलनहरू र त्यसका नाममा भएका परिवर्तनहरूलाई प्रजातान्त्रिक परिवर्तनहरू हुन् भनेर स्वीकार गर्दैन । कांग्रेस, वामपन्थी वा अन्य आवरणमा भएका आन्दोलन र परिवर्तनहरूको उत्थान र समापनको जरो नेपालभित्र नभएर विदेशी भूमिमा रहेको छ । प्रत्येक आन्दोलनपछि बन्ने सरकारले गर्ने निणर्यहरू विदेशीहरूका एजेन्डामा मात्र केन्द्रित हुनु र देशको सार्वभौमिकता, अखण्डता र नागरिकहरूका समस्याहरूले कहिल्यै स्थान नपाउनुको कारण यही हो । 

जब जब विदेशी साम्राज्यवादी शक्तिहरूको स्वार्थका अगाडी  गत्यावरोधहरू खडा भएर तिनीहरूको रणनीति अगाडी बढाउन समस्या उत्पन्न हुन्छ र एकप्रकारको गतिरोध पैदा हुन्छ, तब तब  तिनीहरूकै योजनामा दलीय आन्दोलनहरू संगठित गरिएका छन् । आन्दोलनको सफलता पश्चात बन्ने सरकारले विदेशीहरूकै कामलाई प्राथमिकता दिने गरेका छन् । २००७ साल, ०४६ साल, माओवादी युद्ध र ०६१/०६२ का कथित आन्दोलनका योजनाहरू विदेशी भूमिमा, विदेशी रणनीतिमा र विदेशीहरूकै एजेन्डाहरूको कार्यान्वयनका लागि भएका हुन् । इतिहासको यो यथार्थतालाई बुझेर हामीले कथित प्रजातान्त्रिक आन्दोलनको कालो अध्यायको मूल्याङ्कन गर्नु पर्दछ । 

 

नागरिक प्रतिरक्षा प्रणालीमा आधारित बहुआयामिक सुरक्षा नीति

त्रिमूल नेपालले सुरक्षा नीतिमा आफ्नो मौलिक धारणा अगाडी सारेको     छ । अहिलेसम्मको सुरक्षा नीति एक आयामिक, जनताबाट कटेको, जागिरमा आधारित र व्यारेकमा सीमित छ । यसलाई बहु-आयामिक, जनतासँग जोडिएको, राष्ट्रभक्तिमा आधारित र गतिशिल बनाउनु पर्दछ भन्ने हाम्रो निष्कर्ष रहेको छ । देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा यहाँको सेनाको भूमिका हेर्ने हो भने यो देशको सेना हो भन्न लाज मान्नु पर्ने अवस्था छ । खराब सुरक्षा नीतिका कारणले सेनाले शान्ति सेनाका नाममा साम्राज्यवादीहरूको चौकिदारी बाहेक केही पनि गरेको छैन । 

सुरक्षा भनेको समग्र सुरक्षा हो । यसमा देशको सुरक्षा, सीमानाको सुरक्षा, व्यक्तिको सुरक्षा, उत्पादनको सुरक्षा, प्राकृतिक एवं मानवीय विपत्तिहरूबाट सुरक्षा, सामान्य शान्ति सुरक्षा जस्ता सबै कुराहरू पर्दछन् । त्यसैले सुरक्षा नीति बहु-आयामिक हुनु पर्दछ । दोश्रो कुरा यो नागरिक प्रतिरक्षा प्रणालीमा आधारित हुनु पर्दछ । नागरिकहरूलाई सुरक्षा प्रणालीसँग जोडेर तालिम दिने हो भने सीमानाको सुरक्षा, प्राकृतिक एवं मानवीय विपत्तिहरूबाट सुरक्षा, सामान्य शान्ति सुरक्षाका कामहरू नागरिकहरूको तहबाटै समाधान हुन्छ । नागरिकहरूमा यो अधिकार भएको भए ईण्डियाले भूमि कब्जा गर्न नै सक्ने थिएन । 

 

बहु-खम्बे विदेश नीति

विभिन्न देशहरूसँग समदुरीको नीति एउटा भ्रम मात्र हो । कुनै पनि देशहरूसँग समान दुरी हुन  सक्दैन । नेपालप्रति सबै देशहरूको व्यवहार र सम्बन्ध एकै प्रकारको हुन नसक्ने भएकोले जुन देशले हामीप्रति जस्तो व्यवहार गर्दछ वा हामीले जुन देशसँग आफ्नो हित अनुसार जस्तो प्रकारको सम्बन्ध राख्नु पर्ने हो त्यसै अनुसारको फरक फरक विदेश नीति अपनाउनु पर्दछ । यसरी विदेश नीतिको वर्गीकरण गर्दा विश्वका विभिन्न देशहरूलाई मिल्दाजुल्दा खम्बाहरूमा वर्गीकरण गरेर दुरी कायम गर्नु पर्दछ भन्ने त्रिमूल नेपालको धारणा रहेको छ । 

 

दल निर्माणका ३ वटा विशिष्ट आधारहरू

त्रिमूल नेपालको नामाकरण विशिष्ट अवधारणामा आधारित छ । यसले देशको समग्र संकटलाई तीन वटा प्रकारमा समेटिने गरी वर्गीकरण गरेको छ । पहिलो प्रकारको समस्या राज्य प्रणालीको संरचना र चरित्रसँग जोडिएको छ । सुगौली-सन्धिपछिको राज्य प्रणाली स्वाधीन छैन । यो पराधीन छ । त्यसैले, हामीले सुगौली-सन्धिपछिको युगलाई नव-औपनिवेशिक युग भनेका छौं । वैदेशिक गुलामीमा आधारित यो युगको अन्त्य नगरिकन अर्थात् पराधीन राज्य संरचनाको अन्त्य नगरिकन देशको संकट समाधान हुन सक्दैन । यसलाई त्रिमूल नेपालले युगान्तकारी परिवर्तन भनेको छ । 

दोश्रो प्रकारको समस्या हाम्रो आफ्नो मौलिकता गुम्नुसँग जोडिएको छ । हामीले पश्चिमा विचारधाराको प्रभाव र दवावमा परेर सबै आफ्नोपन गुमाएका छौं । सोंचदेखि लिएर जीवन पद्धतिसम्ममा हाम्रो विदेशीकरण भएको छ । यसको समाधान गर्न हामी पुनर्जागरण आन्दोलनमा अघि बढ्नु पर्ने आवश्यकता छ । तेश्रो प्रकारको समस्या राजनीतिक मूल्य-मान्यतासँग जोडिएकोछ । वर्तमान राजनीतिक विचार अन्तर्गत निर्मित कथित लोकतन्त्रले दलीय सर्वोच्चतालाई प्रजातन्त्रको पर्याय मान्दछ । यो विदेशी चिन्तनले दलीयतालाई सर्वोपरि बनाएर देश, समाज र नागरिकहरूलाई मारेको छ । 

एउटा महान युगान्तकारी परिवर्तनका माध्यमबाट सुगौली-सन्धिपछिको नव-औपनिवेशिक युगको अन्त्य गर्ने, हामीले गुमाएका आफ्ना मौलिक चिन्तन, विचार, मूल्य-मान्यता र जीवन पद्धतिहरूको पुनःस्थापना गर्ने र दलको सट्टामा राष्ट्रलाई पहिलो मानेर राजनीतिक मूल्य-मान्यताहरूको विकास गर्ने ३ वटा महान संकल्पहरू बोकेर अगाडी बढ्नु पर्दछ भन्ने निष्कर्षका आधारमा दलको नाम त्रिमूल नेपाल राखिएको हो । यि ३ वटा मूल आधारहरूले आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, नैतिक र दैनिक जीवनसँग सम्बन्धित सबै समस्याहरूलाई समेटेका छन् । 

 

राष्ट्रियताको परिस्थितिजन्य तत्व

त्रिमूल नेपालले तिब्बत चीनको अभिन्न अंग हो भन्ने कुरा नेपालको राष्ट्रियताको परिस्थितिजन्य तत्व हो भन्ने यथार्थतालाई आत्मसात गरेको छ । यो विषय तिब्बतमा ईण्डो-पश्चिमा साम्राज्यवादी शक्तिहरूको कब्जा भयो भने नेपालको सार्वभौम अस्तित्व नै खतरामा पर्नेछ भन्ने मान्यतामा आधारित छ । नेपाल ३ तिरबाट इण्डियाले घेरिएको छ । त्यसले आजसम्म नेपाललाई अन्तर्राष्ट्रिय कानुन अनुसार पाउनु पर्ने समुद्रसम्मको पहुँचको अधिकार दिएको छैन । 

नेपालमा आफ्ना शर्त र स्वार्थहरू पूरा नहुँदाका बखत त्यसले ४ पटक नाकाबन्दी लगाइसकेको इतिहास हाम्रा अगाडी जीवित छ । यदी तिब्बत चीनको अङ्ग नभैदिएको भए चारवटै दिशाहरूबाट ईण्डो-पश्चिमा साम्राज्यवादीहरूको घेरामा परेर नेपालले आफ्नो स्वतन्त्र अस्तित्व नै गुमाउँथ्यो । त्यसैले, नेपालको सार्वभौम अस्तित्व र भौगोलिक अखण्डताका लागि तिब्ब्त चीनको अभिन्न अङ्गका रूपमा रहिरहन आवश्यक छ । यसमा कुनै भ्रम रहनु हुँदैन । 

 

ईण्डो-एशियाली कडीका रूपमा नेपाल संकट

देशको संकटलाई त्रिमूल नेपालले विश्व साम्राज्यवादको ईण्डो-एशियाली कडीका रूपमा व्याख्या गरेको छ । यो संकट नेपालभित्रका कुनै आन्तरिक कारणहरूले गर्दा उत्पन्न भएको होईन । यो चीनबाट तिब्बतलाई अलग गरेर विश्वमा आफ्नो अत्याचारी हैकमलाई निरन्तरता दिइरहने पश्चिमा साम्राज्यवादको रणनीतिबाट उत्पन्न भएको संकट हो । चीनलाई विश्व महाशक्ति बन्नबाट रोक्नका लागि तिब्ब्त विभाजनको उद्देश्यले नेपालको भू-राजनीति गिजोलिएको हो । 

अमेरीकी नेतृत्वको पश्चिमा जगतले ईण्डियालाई आधार बनाएर नेपालमा हस्तक्षेप गरेको छ । ईण्डिया चीनको परम्परागत शत्रुका रूपमा रहेको, नेपालको छिमेकी पनि भएको, दलाई लामाको कथित निर्वासित सरकार इण्डियामा रहेको र नेपालमा पनि हजारौं तिब्बती शरणार्थीहरू भएको कारणले गर्दा पश्चिमाहरूले इण्डियालाई आधार बनाएर नेपालमा हस्तक्षेप गरेका हुन् । त्यसैले देशको वर्तमान संकटलाई पश्चिमा रणनीतिको ईण्डो-एशियाली कडी भनिएको हो ।