त्रिमूल नेपालको नियमावली २०७७

 


परिच्छेद १:परिचय


 

१.१ प्रारम्भिक

(क) यस नियमावलीको नाम ‘त्रिमूल नेपालको नियमावली २०७७ रहेको छ। यो नियमावली निर्वाचन आयोगबाट विधान प्रमाणिकरण हुनासाथ तुरुन्त लागु हुनेछ। 

(ख) ‘त्रिमूल नेपालको विधान २०७७ अनुसार केन्द्रीय समितिले यो नियमावली पारित गरेको छ । 

(ग) नियमावलीमा प्रयोग भएको ‘विधान’ भन्ने शब्दले ‘त्रिमूल नेपाल’ को विधानलाई जनाउनेछ ।

 

 



 

२.१  प्रतिनिधित्व 

(क) महाधिवेशनमा प्रतिनिधित्व गर्नका लागि जिल्लाभित्रका कूल संगठित सदस्यहरूको संख्याको अनुपातका आधारमा प्रतिनिधिहरूको संख्या निर्धारणा गरिने छ। यसरी प्रतिनिधित्वको निर्धारण गर्दा कति जना संगठित सदस्य बराबर १ जनाको प्रतिनिधित्व हुने भन्ने कुराको निर्णय केन्द्रीय समितिले महाधिवेशन अगाबै टुंगो लगाउने छ।

(ख) जिल्लादेखि वडासम्मको प्रतिनिधित्वका हकमा सम्बन्धित समितिको क्षेत्रभित्र रहेका कूल संगठित सदस्यहरूको अनुपात अनुसार निर्णय गरिने छ र कति जना संगठित सदस्य बराबर १ जनाको प्रतिनिधित्व हुने भन्ने कुराको निर्णय सम्बन्धित समितिहरूले अधिवेशनको ३ महिना अगाबै टुंगो लगाउने छन्।

(ग) राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्वका लागि प्रत्येक जिल्ला समितिहरूले १ जना अध्यक्ष र बहुमत सदस्यहरूको चयनबाट अन्य १ जना प्रतिनिधि गरी कूल २ जना प्रतिनिधिहरू पठाउने छन्। 

(घ) भेलाहरूमा प्रतिनिधित्वको व्यवस्था हरेक जिल्लाबाट १ जना प्रतिनिधिको दरले हुनेछ।

(ङ) महाधिवेशन र अधिवेशनहरूमा प्रतिनिधित्व गर्ने कूल प्रतिनिधिहरूको संख्याको २० प्रतिशत थप प्रतिनिधि संख्या केन्द्रीय समिति र स्थानीय समितिहरूले गर्न सक्नेछन् भने राष्ट्रिय भेलाको प्रतिनिधित्वको सख्या केन्द्रीय समितिले निर्धारण गर्नेछ ।

(च) महाधिवेशन र अधिवेशनहरूमा महिलाहरूको प्रतिनिधित्व न्यूनतम् २५ प्रतिशत र समुदायगत् प्रतिनिधित्व न्यूनतम् १० प्रतिसत गराएर समावेशिता सुनिश्चित गरिने छ। 

(छ) महाधिवेशन, अधिवेशन, सम्मेलन, र भेलाहरू सम्बन्धित समितिहरूले नै आयोजना गर्नेछन् । 

 

२.२  प्रतिनिधि चयनको विधि

(क) महाधिवेशन र अधिवेशनहरूमा हुने प्रतिनिधित्वका लागि सम्बन्धित समितिको मातहतमा रहेका सबै समितिहरूमा संगठित सदस्यहरूको सर्वसम्मत चयन वा गोप्य मतदान प्रकृया अवलम्बन गरिनेछ । महाधिवेशन र अधिवेशनहरूमा मातहत समितिका अध्यक्षहरू स्वतः प्रतिनिधि हुनेछन्।

(ख) महाधिवेशन तथा अधिवेशनहरूका लागि प्रतिनिधित्वको दाबेदारीमा पराजित भएका सदस्यहररूलाई सम्बन्धित समितिहरूले मनोनयन गर्न कुनै बाधा व्यवधान हुने छैन ।

 

२.३ कार्य संचालन

(क) महाधिवेशन र अधिवेशनहरुको कार्य सञ्चालनको विधि संबन्धित समितिहरूले तय गर्नेछन्। महाधिवेशन र अधिवेशन आयोजक समिति बिघटन गरिनेछ र त्यसले चयन गरेको अध्यक्ष मण्डलले बाँकि कार्यक्रमहरू संचालन गर्ने तथा नयाँ नेतृत्वको नामावली  प्रस्तावित गर्नेछ। 

(ख) राष्ट्रिय सम्मेलनको अध्यक्षता केन्द्रीय अध्यक्षले र भेलाहरूको अध्यक्षता त्यसमा उपस्थित जेष्ठ उमेरका सदस्यबाट गरिने छ।

(ग) महाधिवेशन र अधिवेशनहरूमा छलफलका लागि प्रस्तुत हुने दस्तावेजहरु छलफल पश्चात सर्वसम्मतिले पारित गरिने छन्। मत बाझेमा निर्णयार्थ गोप्य मतदानको प्रकृया अपनाईने छ।

२.४ निर्वाचन प्रकृया

(क) महाधिवेशन वा अधिवेशनमा मतदानबाट नेतृत्वको चुनाव गर्नुपर्ने अवस्था उत्पन्न भए अध्यक्ष मण्डलको प्रस्तावमा निर्वाचन समिति गठन हुनेछ। समितिले आफ्नो कार्यविधि आफै तय गर्नेछ। निर्वाचन सम्पन्न भएपछि उक्त समिति स्वतः भंग हुनेछ। 

(ख) महाधिवेशन र अधिवेशनहरूमा कार्यकारिणी समितिको चुनावका लागि अध्यक्ष मण्डलले नयाँ प्यानल प्रस्ताव पेश गर्नेछ। त्यसरी पेश गरिएको प्यानल प्रस्तावमा दाबी बिरोध गर्न र कसैले उम्मेदवारी दिन चाहेमा निर्वाचन समितिले निर्धारण गरेको प्रकृया पूरा गरी निर्धारित ढाँचामा उम्मेदवारी दर्ता गर्न सक्नेछ। 

(ग) उम्मेदवारी विरोध र दाबीको रित पुगे नपगेको कुरा जाँच गरी स्वीकृत वा अस्वीकृत गर्ने अधिकार निर्वाचन समितिलाई हुनेछ।

(घ) मतदानमा कुनै उम्मेदवारको मत बराबरी भई आवश्यक परिणाम प्राप्त हुन नसकेमा अपेक्षित परिणाम प्राप्त नहुँदासम्म पुनः मतदान गरिने छ ।

 

 


परिच्छेद ३: शाखा संगठनहरूको कार्यविधि


३.१  बैठकहरू

(क) शाखा संगठनहरूको बैठकको अध्यक्षता संबन्धित समितिका अध्यक्षहरूले गर्नेछन्।

(ख)  निर्णय पुस्तिकामा माईनुट लेख्नका लागि अध्यक्षले समितिभित्रबाट कुनै पनि व्यक्तिलाई चयन गर्न सक्नेछन् ।

३.२  प्रतिनिधित्व

(क)  शाखा संगठनहरूको महासभामा हुने प्रतिनिधित्वको संख्या तिनिहरूको बिधान र नियमावलीमा उल्लेख भए बमोजिम हुनेछ।

 (ख) शाखा संगठन हरूको त्यसमा हुने संशोधन दलको केन्द्रीय समितिले अनुमोदन गरेको हुनुपर्नेछ ।

 

 

 


परिच्छेद ४: बैठकका सञ्चालन, किसिम र गणपूरक संख्या


 

४.१  बैठक सञ्चालन

(क)  सबै तहका समितिका अध्यक्षहरूले बैठक सञ्चालन गर्नेछन्।

४.२  निर्णय प्रकृया र आन्तरिक परिपत्र

(क) बैठकका निर्णयहरु लिखित रुपमा निर्णय पुस्तिकामा लेखिने छन् र निर्णयहरु पुस्तिकामा लेख्नु अगाडी यस्तानिर्णयहरू बैठकमा उपस्थित सबै सदस्यहरुका अगाडी वाचन गरेर सुनाईनेछ।

(ख) बैठक सकिएपछि निर्णयहरू लेखिएको माइनुट प्रमाणिकरणका लागि माइनुटको पुछारमा अध्यक्षको हस्ताक्षर अनिवार्य गराइने छ।

(ग) दलका आवश्यक निर्णयहरु मातहतका समितिहरुलाई लिखित रुपमा जारी गरिने छ।

(घ) बैठकमा असामान्य परिस्थिति उत्पन्न भएको खण्डमा अध्यक्षले बैठक स्थगित गर्न वा समापन भएको घेषणा गर्न सक्नेछन।

४.३ बैठको गणपुरक संख्या, किसिम र बैठक बोलाउने विधि

(क) केन्द्रदेखि वडासम्मका समितिको कूल संख्याको बहुमतको उपस्थितिलाई बैठकको गणपूरक संख्या मानिने छ।

(ख) दलका सबै तहका समितिका बैठकहरू नियमित, विशेष र आकिस्मक गरी ३ प्रकारका हुने छन्। 

(ग) विशेष बैठकहरु कुनै विषयगत मुद्दामा बहस गर्नका लागि र आकस्मिक बैठकहरु कुनै असामान्य परिस्थिति उत्पन्न भएको समयमा बेलाईने छन्।

(घ) केन्द्रीय समितिको नियमित बैठक प्रत्येक ६ महिनामा १ पटक, जलाधार तथा बागमती सभ्यता क्षेत्रका बैठक प्रत्येक ३ महिनामा र जिल्ला  तथा सो भन्दा तल्लो निकायका  बैठकहरू प्रत्येक २ महिनामा १ पटक बस्नु पर्नेछ।

(ङ) सबै तहका समितिहरुको बैठक सम्बन्धित समितिका अध्यक्षले बोलाउने छन्। कुनै कारणले समितिका अध्यक्षले समयमा बैठक नबोलाएको अवस्थामा समितिका एकतिहाई सदस्यहरूले लिखित रुपमा बैठकको माग गर्न सक्नेछन्। यसरी माग भएको खण्डमा माग दर्ता भएको दिनदेखि १५ दिनभित्र अध्यक्षले बैठक बोलाउनु पर्नेछ। एकतिहाई सदस्यहरूको लिखित मागका बाबजुद कुनै उचित कारण नखुलाई निर्धारित समयमा अध्यक्षले बैठक नबोलाएमा लिखित निवेदन दिने सदस्यहरुको आह्वानमा बैठक बसेर नयाँ अध्यक्षको चयनका साथै अन्य आवश्यक निर्णयहरु गर्न सकिने छ।

(च) केन्द्रीय समितिका एकतिहाई सदस्यहरूको आह्वानमा बोलाईएको बैठकमा गणपूरक संख्या नपुगेको खण्डमा केन्द्रीय समिति विघटन भएको मानिनेछ र यसले गर्ने संपूर्ण कामहरूको उत्तरदायित्व केन्द्रीय कार्यकरी समितिले लिनेछ।

(छ) केन्द्रीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय कार्यकारी समिति, राजनितिक बिमर्श समिति, जलाधार तथा बागमती सभ्यता बिशेष क्षेत्रीय समन्वय समिति, जिल्ला समिति, नगर/गाउँ पालिका समितिको बैठकमा उक्त समितिमा नरहेका वा मातहतका समितिहरूमा रहेका वा साधारण सदस्य मात्र रहेका कुनै सदस्यहरूलाई आवश्यक परेमा पर्यवेक्षकका रूपमा बोलाउन सकिने छ ।

 


परिच्छेद ५: समितिका सदस्यता र उम्मेद्धारी सम्बन्धी


 

५.१ उम्मेद्धारी छनौटको मापदण्ड र प्रकृया 

(क) महाधिवेशन र अधिवेशनहरूमा आगामी नेतृत्वका रूपमा अध्यक्ष मण्डलबाट प्रस्तावित गरिने नामावली केन्द्रीय समितिले निर्धारण गरेका मापदण्ड अनुरूप हुनुपर्नेछ । 

(ख) अध्यक्ष मण्डलले प्रस्तुत गरेको प्यानल प्रस्तावमा दाबी विरोध भई, दिईएको समयभित्रमा उक्त दाबी विरोध फिर्ता नभएमा सो प्रस्ताव पेश गर्नु पर्ने कारणहरू ब्याख्या गरेर मात्र मतदानको प्रकृया अपनाईने छ।

५.२  तहगत सदस्यताको व्यवस्था

(क) केन्द्रीय कार्यकारी समिति सदस्य

(ख) केन्द्रीय राजनीतिक बिमर्श समिति सदस्य

(ग) केन्द्रीय समिति सदस्य 

(घ) केन्द्रीय परिषद् सदस्य

(ङ) प्रदेश/क्षेत्रीय समन्वय समिति सदस्य

(च) जिल्ला समिति सदस्य

(छ) नगर/गाऊँ पालिका समिति सदस्य

(ज)   वडा समिति सदस्य

(झ) एकाई समिति सदस्य

(ञ) संगठित सदस्य

(ट) साधारण सदस्य

५.३  सदस्यता मर्यादाक्रम सम्बन्धि व्यवस्था

(क) कुनै पनि ब्याख्याका भरमा दलभित्र वरिष्ठ र कनिष्ठ सदस्य वा पदीय मर्यादाक्रममा वरिष्ठता र कनिष्ठताको मान्यता लागु गरिने छैन। तर दलमा हुने कामको मुल्याङ्कन भने लागु गरिनेछ।

(ख) अन्य आवश्यक व्यवस्था केन्द्रीय समिति वा केन्द्रीय कार्यकारी समितिको निर्णयानुसार हुनेछ।

५.४ पुनारावलोकन

(क) धारा ३२ को दफा ३२.१ अनुसार सदस्यता खारेजीमा परेको व्यक्तिले यस्तो कारवाही उपर चित्त नबुझेमा पुनारावलोकन गर्नको लागि केन्द्रीय समिति समक्ष निवेदन दिन सक्नेछन् । 

 


परिच्छेद ६: मुल्यङ्कनका मापदण्ड


 

६.१ केन्द्रीय समिति र जिल्ला समितिमा रहनको लागि केन्द्रीय समितिले बनाउने मापदण्ड भित्र आचार समिताको पालना, पद्धत्ति र अनुसाशन, नियमित रिपोटिङ्ग लाई अनिवार्य रूपमा सामेल गर्नु पर्नेछ।

 


परिच्छेद ७: पार्टी कोष परिचालन तथा फर्छ्यौट


 

७.१ दलको संस्थागत उत्पादनबाट आर्जन हुने रकम, दलका सदस्यहरुबाट मासिक सहयोगका रुपमा उठ्ने रकम, पार्टी कार्यक्रमहरुबाट उठ्ने रकम र सुभ–चिन्तकहरुबाट स्वेच्छापूर्वक दिईने सहयोग मात्र पार्टी कोषका रुपमा जम्मा गरिनेछ।

७.२ केन्द्रीय कार्यालयको स्विकृती विना कुनै पनि सदस्य र मातहतका समितिहरूले दलको सहयोग रसिद प्रयोग गरेर नगद रकम वा जिन्सी सम्पत्ति संकलन गर्न सक्ने छैनन्।

७.३ दलको आय-व्ययको विवरण प्रामाणिक रसिद प्रणालीका आधारमा व्यवस्थापन गरिने छ।

७.४  आवश्यक देखेको अवस्थामा केन्द्रीय समितिको कोष तथा लेखापरिक्षण विभागले जिल्ला, नगर, गाऊँ र वडा समितिहरूको आय-व्ययको विवरण तथा लेखापरीक्षणको अनुगमन गर्नेछ । 

७.५ प्रत्येक तहका समितिहरूले संकलन गरेको दान/सहयोग रकम संकलीत रकमको २५% अनिवार्य रूपमा केन्द्रमा पठाउनुपर्ने छ।

 


परिच्छेद ८: सपथ


देशले माग गरेको युगान्तकारी परिवर्तन, अबान्छित शक्तिहरूको षडयन्त्रबाट गुमेका सबै प्रकारका मौलिकताहरुको पुनःस्थापना र स्वदेशी नयाँ मौलिकताको विकासका लागि पुनर्जागरण आन्दोलन तथा राष्ट्रलाई पहिलो मानेर विकास गरिने गणराज्य समाज व्यवस्थाको स्थापनार्थ म …………….. दलले निर्धारण गरेको मार्गबाट कदापी बिचलित हुनेछैन। मेरो यो प्रतिबद्धता पवित्र देशभक्ति, स्पष्ट संकल्प, दृढ ईच्छाशक्ति, समर्पणभाव र स्वविवेकबाट प्ररित छ भन्ने कुरा सहयात्री सदस्यहरुका बीचमा स्पष्ट पार्न चाहन्छुँ।